Government of Nepal

Ministry of Culture, Tourism & Civil Aviation

National Archives

Ramshah Path, Kathmandu , Nepal



Avatar
राष्ट्रिय अभिलेखालयको ५३औँ वर्षगाँठ भर्चुअल अन्तरक्रिया गरी सम्पन्न भएको छ । वि.सं.२०२४ साल असोज १७ गते स्थापना भएको वर्षलाई आधार मानी विगत केही वर्षयतादेखि राष्ट्रिय अभिलेखालय दिवस मनाउन शुरु गरिएको हो । यस वर्ष राष्ट्रिय अभिलेखालय स्थापनाको ५३औं वर्षगाँठ विश्वव्यापी महामारीका रुपमा फैलिएको कोविड १९ का कारण वाग्मती प्रदेशका मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि माननीय डोरमणि पौडेलज्यूको समुपस्थितिमा भर्चुअल रुपमा सम्पन्न गरियो ।
 
यस कार्यक्रममा विशिष्ट अतिथि वाङ्मय शताब्दीपुरुष श्री सत्यमोहन जोशी एवं विषेश अतिथिका रुपमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका माननीय सभापति श्री रामनारायण बिडारी र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्री जगत्प्रसाद उपाध्याय लगायत विशिष्ट महानुभावहरुको समुपस्थिति रहेको थियो । 
 
राष्ट्रिय अभिलेखालयका निमित्त महानिर्देशक श्री सौभाग्य प्रधानाङ्गको स्वागत मन्तव्यसँगै शुरुवात भएकोे कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव संस्कृति महाशाखा प्रमुख श्री प्रदीपकुमार कोइरालाको सभापतित्वमा सम्पन्न भयो ।  यस कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्यमन्त्री डोरमणि पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री योगेशकुमार भट्टराईज्यूको भिडीयो सन्देश प्रसारण गरियो । विशिष्ट अतिथि तथा वाङमय शताब्दीपुरुष श्री सत्यमोहन जोशीले पनि वेविनार मार्फत नै दङ्गीशरण कथा, शैवतन्त्र सम्बन्धी ग्रन्थ कालीतत्व र प्रथम लगतको दोस्रो भागको पुस्तक विमोचन तथा शुभकामना मन्तव्य राख्नुभयो । उक्त कार्यक्रममा विमोचित तीनवटै किताबको समीक्षा प्रा. डा. सुधनकुमार पौडेलले गर्नुभएको थियो ।
 
कार्यपत्र प्रस्तुतीकरणको क्रममा राष्ट्रिय अभिलेखालयका पूर्वप्रमुख श्री भीमप्रसाद नेपालले अभिलेख व्यवस्थापनको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशा सम्बन्धी र प्राविधिक विशेषज्ञ श्री दिलिपकुमार रावतले डिजिटल अभिलेख र यसको व्यवस्थापन सम्बन्धी छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरी उक्त विषयमा सहभागीहरुबीच विस्तृत छलफल र अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको अन्त्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा अन्तरक्रिया कार्यक्रमका सभापतिज्यूबाट सम्पूर्ण सहभागी विशिष्ट महानुभावहरुलाई धन्यवाद ज्ञापनका साथै देशका अभिलेख तथा रेकर्डहरुको मूल प्रतिको संरक्षण गर्दै डिजिटल प्रविधिमा तिनको रुपान्तरण गरी अभिलेख ब्यवस्थापन गर्नुपर्ने निश्कर्ष सहित अन्तक्र्रिया कार्यक्रम औपचारिक रुपमा सम्पन्न गरिएको थियो ।