Government of Nepal

Ministry of Culture, Tourism & Civil Aviation

National Archives

Ramshah Path, Kathmandu , Nepal



Avatar
प्रेस विज्ञप्ति
२०७९ असार ८, बुधबार ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय अभिलेखालयको आयोजनामा २०७९ असार ७ र ८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा नेपाल पक्ष भई गरिएका सन्धिसम्झौता लगायतका दस्तावेजहरूको अभिलेखीकरणसम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी सुसम्पन्न भयो । उक्त कार्यक्रम नेपाल सरकारका मुख्यसचिव श्री शंकरदास वैरागीको प्रमुख आतिथ्य र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री महेश्वर न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यशालामा नेपाल सरकारका सचिवहरू, सहसचिवहरू, पूर्व प्रशासकहरू, प्राध्यापकहरू, नेपाली सेनाका पदाधिकारीहरू, सम्बन्धित विषयका विशिष्ट विद्वानहरूको उपस्थिति रहेको थियो । राष्ट्रिय अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्गको स्वागत मन्तव्यसंगै आरम्भ भएको उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव श्री शंकर दास वैरागीले मन्तव्य (Key note speech)  प्रस्तुत गर्नुहुँदै महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजहरूको संकलन र संरक्षणमा सवै मिलेर काम गर्नुपर्ने धारणा राख्नुभएको थियो । 
कार्यशालामा राष्ट्रिय अभिलेखालयका तर्फबाट महानिर्देशक सौभाग्य प्रधानाङ्ग, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट सहसचिव श्री फणिन्द्र गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट सहसचिव श्री अरुणा जोशी, परराष्ट्र मन्त्रालयका तर्फबाट सहसचिव श्री घनश्याम भण्डारी र नेपाल सरकारका पूर्व कानूनमन्त्री श्री माधवप्रसाद पौडेलबाट सन्धि सम्झौताको व्यवस्थापन र अभिलेखीकरण तथा राष्ट्रिय अभिलेखालयको वर्तमान अवस्था, काम कर्तव्य र अधिकार, ऐन नियम लगायतका विषयहरूमा नेपाल सरकारले अंगीकार गर्नुपर्ने भावी कार्यदिशामा केन्द्रित भई कार्यपत्रहरू प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुतिका क्रममा राष्ट्रिय अभिलेखालयका पूर्व प्रमुख श्री भीमप्रसाद नेपालले सहजीकरण गर्नुभएको थियो ।
प्रस्तुत कार्यपत्रका विविध विषयहरूका सन्दर्भमा लोकसेवा आयोगका पूर्व अध्यक्ष श्री तीर्थमान शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री यादवप्रसाद कोइराला, संघीय संसद सचिवालयका सचिव श्री सुदर्शन खड्का, इतिहासविद् डा। श्री महेशराज पन्त, प्राज्ञ श्री दिनेशराज पन्त, सीमाविद् श्री बुद्धिनारायण श्रेष्ठ, नापी विभागका पूर्व महानिर्देशक श्री पुण्यप्रसाद ओली, प्रा। डा। श्री रमेश ढुंगेल, पूर्व जर्नेल डा। श्री प्रेमसिंह बस्न्यात, मदन पुरस्कार पुस्तकालयका अध्यक्ष श्री कनकमणि दीक्षित, प्राध्यापक श्री हेमन्त सम्शेर राणा, नेपाली सेनाका सहायक रथी श्री मदन केसी लगायतका वक्ताहरूले टिप्पणी गर्नुहुँदै विविध सुझावहरू दिनुभयो । सुझावका क्रममा वक्ताहरूबाट अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन एकीकृत नीति बनाउनुपर्ने, कानुनी एकरूपता कायम गर्नुपर्ने, अभिलेखहरूको संकलन तथा प्रमाणीकरणमा एकद्वार प्रणाली लागू गर्नुपर्ने,  राष्ट्रिय अभिलेखालयको सांगठनिक क्षमता अभिवृद्धि गर्नुपर्ने, राष्ट्रिय अभिलेखालय र कागजात सिर्जना गर्ने निकायहरूबीच समन्वय र सहकार्य हुनुपर्ने, देशभित्र र बाहिर रहेका दस्तावेजहरूको प्राप्तिमा पहल गर्नुपर्ने एवं व्यक्तिगत संग्रहमा रहेका दस्तावेजहरू राज्यले प्राप्त गर्न कानुनी एवं प्रोत्साहित गर्ने व्यवस्था गर्नुपर्ने लगायतका सारभूत सुझावहरू प्राप्त भएको थियो । 
कार्यपत्रको प्रस्तुति र यस क्रममा उठेका विविध विषयहरूको समीक्षा गर्दै पूर्वसांसद तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका निवर्तमान सभापति श्री रामनारायण बिडारीले विज्ञहरूको समूह बनाई दस्तावेजहरूको खोजी गर्नुपर्ने तथा राज्यका तीनै अंगका दस्तावेजहरूलाई एकीकृत तवरले अभिलेखीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो।
कार्यक्रमको समापनका क्रममा नेपाल सरकारका मुख्य सचिव श्री शंकरदास वैरागीले विगतमा सिर्जित दस्तावेजहरूको खोजी एवं भविष्यमा सिर्जना हुने दस्तावेजहरूको प्रभावकारी व्यवस्थापन गर्न नीतिगत, सांगठनिक एवं कार्यगत सुधारका लागि आवश्यक कार्यदल बनाई ठोस रूपले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।     
अन्त्यमा, कार्यक्रमका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री महेश्वर न्यौपानेले सन्धि सम्झौता लगायतका दस्तावेजहरूको खोजी, प्राप्ति र व्यवस्थापन गरी राष्ट्रिय अभिलेख राख्न कानुनी सामञ्जस्यताको साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयकारी भूमिका महत्त्वपूर्ण हुने विचार व्यक्त गर्नुहुँदै कार्यक्रमको समापन गर्नुभयो ।