Government of Nepal
Ministry of Culture, Tourism & Civil Aviation
Ramshah Path, Kathmandu , Nepal
(काठमाडौं) - सरकारले बिनायोजना र पूर्वाधार राष्ट्रिय अभिलेखालय नारायणहिटीमा स्थानान्तरण गर्ने तयारी थालेको छ । हतारमा गरिने स्थानान्तरणले अभिलेखालयका दुर्लभ हस्तलिखित ग्रन्थ नष्ट हुने जोखिम उच्च देखिएको छ । राष्ट्रिय अभिलेखालयमा रहेका कतिपय ग्रन्थका पाना छुनेबित्तिकै झर्ने खालमा छन् । यी पाना ८ औं शताब्दीमा लिच्छवि लिपिमा लेखिएका हुन् । बौद्ध दर्शनको सद्धर्मपुण्डरिक सूत्र, सन् ८१० को स्कन्दपुराण, युनेस्कोले मेमोरी अफ द वर्ल्ड रजिस्टरमा सूचीकृत नवौं शताब्दीको शैवतन्त्र ग्रन्थ पनि अभिलेखालयमा छन् । प्रताप मल्लका पालामा लेखिएको स्याहा मोहर, भोज पत्रमा लेखिएको चण्डी, जग्गासम्बन्धी ताडपत्र, विष्णुधर्मोत्तरसम्बन्धी नीलपत्र र संसारकै प्राचीन लिखित कानुन मानिने जयस्थिति मल्लको वैधानिक कानुन न्यायविकासिनी (मानव धर्मन्यायशास्त्र) जस्ता मुलुकका इतिहास, धर्म, दर्शन तथा संस्कृतिका दुर्लभ हस्तलिखित ग्रन्थहरू संकलित छन् ।
अभिलेखालयमा कागजको विकास नहुँदै लेखिएका २२ सय वर्ष पुराना, १ लाख ८० हजार ग्रन्थ फिल्मिङ गरिएका माइक्रोफिल्म जस्ता अत्यन्त संवेदनशील ५० हजार अभिलेख छन् । ‘अभिलेखालयमा संसारले नै गौरव गरेका र विश्वकै अमूल्य सम्पत्तिका रूपमा रहेका अभिलेख छन्,’ राष्ट्रिय अभिलेखालयकी प्रमुख सौभाग्य प्रधानांगले भनिन्, ‘यत्तिकै स्थानान्तरण गरे नष्ट हुने खतरा छ । नष्ट भए कुनै पनि उपायबाट परिपूर्ति गर्न सकिँदैन । मन्त्रिपरिषदको निर्णय पुनर्विचार गर्नु जरुरी छ ।’ प्रधानांगका अनुसार मन्त्रिपरिषद्ले अभिलेखालयलाई नारायणहिटीभित्र राख्ने भने पनि कुनै व्यवस्थापन गरिएको छैन । ‘जबर्जस्ती स्थानान्तरण गरे ५ औं शताब्दीको ताडपत्रमा लेखिएको दशभूमिश्वर, लिच्छविकालको बौद्ध दर्शन, स्कन्दपुराण नष्ट हुन्छन्,’ उनले भनिन् । पुरातत्त्व विभाग र राष्ट्रिय अभिलेखालय रहेको भवन र जग्गा सर्वोच्च अदालतलाई उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले २०७१ वैशाखमा गरेको थियो । अभिलेखालय स्थानान्तरण गर्ने निर्णयसम्बन्धी अध्ययन प्रतिवेदनमा पनि मन्त्री परिषद्को निर्णय कार्यान्वयन गरे ठूलो धनराशि गुमाउनुपर्ने उल्लेख छ ।
संस्कृति मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय भन्छन्, ‘मन्त्रिपरिषदको निर्णय परिवर्तन नै गर्नुपर्छ भन्ने होइन । तर, अभिलेखालयमा छुनेबित्तिकै झर्ने खालका डकुमेन्ट पनि छन् । विकल्पमा केही व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयलाई एक पटक चिठी पनि लेखेका थियौं ।’ सिंहदरबार परिसरको अभिलेखालय भवन भारत सरकारको सहयोगमा २०२४ मा अभिलेखालय प्रयोजन गर्ने उद्देश्यले बनाइएको थियो । यहाँ चारवटा भवन छन् । भवनमा वातावरण अनुकूलित भण्डारण कक्ष, तापक्रम, प्रकाश र आर्द्रताको उचित सन्तुलन, माइक्रोफिल्म विकास गरी प्रतिलिपि तयार गर्न ‘डार्क रुम’, सेवाग्राहीलाई अध्ययनको सुविधा उपलब्ध गराउन ‘रिडर रुम’ लगायतका पूर्वाधार छन् । नेपाल जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाअन्तर्गत बनाइएका माइक्रोफिल्म ‘फिल्म रिडर’ मार्फत सहजै अध्ययन गर्न सकिन्छ ।
मल्ल एवं शाह राजाले महत्त्वपूर्ण ग्रन्थ संकलन गरी पूजा तथा अध्ययन गर्थे । प्रतिलिपि तयार गराउन लगाउने अनि सुरक्षित राख्ने परम्पराले हस्तलिखित ग्रन्थहरू संकलन भए । मठमन्दिर, विहार, गुम्बाका आचार्य, पुरोहित तथा गुरु वर्गले अध्ययन, अध्यापन, पूजा–पाठ गर्न संकलन गरिएकाले पनि ग्रन्थहरू थपिँदै गए । सुरुमा ती सामग्री वसन्तपुर दरबारको एउटा कोठामा राखिँदै आएको थियो । सन् १९०४ मा दरबार हाईस्कुलमा सारियो । पछि वीरशमशेरले घण्टाघर पुस्तकालयको निर्माण गरेपश्चात् त्यहाँ सारियो । चन्द्रशमशेरले ग्रन्थहरू जाँच्न लगत समिति खडा गरे । २०२४ सालमा अभिलेखालय स्थापना भयो ।
अभिलेखालयमा ७ औंदेखि २० औं शताब्दीसम्मका प्राकृत, पाली, संस्कृत, मैथिली, नेवारी, तिब्बतीलगायत भाषामा लेखिएका ग्रन्थ छन् । प्राचीन देवनागरी, मैथिली, रञ्जना, नेवारी, बंगाली, उत्तर लिच्छवि लिपि प्रयोग गरी ज्योतिष, आयुर्वेद, योग, धर्मशास्त्र, पुराण, दर्शन, तन्त्र, कर्मकाण्ड, साहित्य, व्याकरण, इतिहाससँग सम्बन्धित ग्रन्थ छन् । नेपाली कागज थ्यासफुमा लेखिएका सामग्रीमा पनि छन् । अभिलेखालयमा संकलित अभिलेखहरूमध्ये कुनै लिपिको दृष्टिले महत्त्वपूर्ण छन् भने कुनै विषयका दृष्टिले त कुनै भाषा, लेख्य सामग्री, इतिहास, धर्म तथा दर्शनको आदिको दृष्टिले महत्त्वपूर्ण छन् । यहाँ पृथ्वीनारायण शाहको दिव्य उपदेशको हस्तलिखित प्रति, ऐतिहासिक कागजपत्रहरू लालमोहर, सन्धि सम्झौता, चिठीपत्र, स्याहामोहर, खड्ग निसाना, सनद, सवाल, इच्छापत्र, द्विछापे, रुक्का, इस्तिहार पनि सुरक्षित छन् । ३ हजार शिलापत्र, भूमिसम्बन्धी कागजपत्र, निजामती कर्मचारीका सिटरोल, प्रकाशनकै समयदेखिका गोरखापत्र, हुलाक टिकट छन् । २०७२ मा संविधानसभाबाट जारी भएको नेपालको संविधानको प्रमाणित प्रतिसमेत संरक्षित छ । त्यस्तै मुन्सीखाना जैसीकोठा हुँदै परराष्ट्र मन्त्रालयका एक हजार २ सय पोकामा रहेका ऐतिहासिक कागजपत्र संकलित छन् ।