Government of Nepal

Ministry of Culture, Tourism & Civil Aviation

National Archives

Ramshah Path, Kathmandu , Nepal



Avatar

राष्ट्रिय अभिलेखालयलको ५४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको

राष्ट्रिय अभिलेखालयले आफ्नो स्थापनाको ५४ औं वार्षिकोत्सव मनाएको छ । वि.सं २०२४ साल असोज १७ गते राष्ट्रिय अभिलेखालयको भवन उद्घाटन भएको दिनलाई आधार मानेर प्रत्येक वर्ष असोज १७ गते राष्ट्रिय अभिलेखालय दिवस मनाउने गरिएको हो ।

राष्ट्रिय अभिलेखालय राष्ट्रिय महत्वका अभिलेखहरुको संकलन, संरक्षण तथा ब्यवस्थापन गर्ने उद्देश्यले स्थापित नेपाल सरकारको एक मात्र आधिकारिक निकाय हो । शुरुमा हनुमानढोका दरबारमा रहेको ग्रन्थ तथा कागजातहरुलाई वि.सं १९०४ सालमा थापाथली दरबार, वि.सं १९१० सालमा दरवार हाईस्कूल र वि.सं १९५७ सालमा वीर पुस्तकालय हुँदै वि.सं २०२४ साल असोज १७ गतेदेखि रामशाहपथ, काठमाडौंमा अवस्थित हालको आफ्नै भवनमा स्थानान्तरण गरेको दिनलाई यसले आफ्नो स्थापना दिन मान्दै आएको छ ।

भौतिक तथा भर्चुअल दुवै रुपमा संचलित सो कार्यक्रममा वाङ्मय शताब्दी पुरुष श्री सत्य मोहन जोशीको प्रमुख आतिथ्यता रहेको थियो । साथै विशेष अतिथिको रुपमा संस्कृति शिरोमणि श्री हरिराम जोशी, अतिथि पूर्वमन्त्री श्री ऋद्धिबाबा प्रधान, अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री यादवप्रसाद कोइराला लगायत अन्य इतिहास तथा संस्कृतिसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री यादवप्रसाद कोइरालाज्यूको सभापतित्वमा औपचारिक रुपमा शुभारम्भ भएको सो कार्यक्रममा राष्ट्रिय अभिलेखालयका निमित्त महानिर्देशक श्री सौभाग्य प्रधानाङ्गज्युले स्वागत मन्तब्य दिनुभएको थियो । स्वागत मन्तव्यका क्रममा उहाँले  राष्ट्रिय  अभिलेखालयको इतिहास, यसको महत्व, वर्तमान गतिविधिहरु र भावी रणनीतिहरुका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष श्री सत्य मोहन जोशीज्यूले संबोधन गर्नुहुँदै मल्लकालको काठमाडौं, भक्तपुर, गोरखा, सेन राज्य एवं बाइसे चौबीसे राज्य लगायतका राज्यको इतिहासलाई सहअस्तित्वका आधारमा राष्ट्रिय इतिहास लेखिनुपर्ने कुरामा जोडदिदै राष्ट्रिय अभिलेखालय दिवसको उपलक्ष्यमा शुभकामना दिनुभएको थियो । त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री यादवप्रसाद कोइरालाले अभिलेख संरक्षणको महत्वलाई उजागर गर्नुपर्ने, बाध्यकारी कानूनी ब्यवस्थाबाट अभिलेख संग्रह गरिनुपर्ने र सरकारका महत्वपूर्ण अभिलेखहरुको मूलप्रति अभिलेखालयमा रहने ब्यवस्था गर्नुपर्ने बताउनु भएको थियो ।

सो कार्यक्रममा वाङ्मय शताब्दी पुरुष श्री सत्य मोहन जोशी, संस्कृति शिरोमणि श्री हरिराम जोशी र पूर्वमन्त्री श्री ऋद्धिबाबा प्रधानले राष्ट्रिय अभिलेखालयबाट सम्पादित तथा प्रकाशित आयुर्वेद विषयका वैद्यजीवनम्”पथ्यापथ्य” नामक दुइवटा ग्रन्थका पुस्तकहरुको संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।

त्यस अवसरमा वाङ्मय शताब्दी पुरुष श्री सत्यमोहन जोशीले नेपाली इतिहास र संस्कृतिमा उल्लेखनीय योगदान दिनुभएका संस्कृति शिरोमणि श्री हरिराम जोशीलाई दोसल्ला एवं अभिनन्दन पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो । साथै वि.सं २०७७ सालको मदन पुरस्कार प्राप्त पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह” का लेखक श्री भगिराज इङ्नामलाई पनि दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । त्यसैक्रममा यस कार्यालयबाट वि.सं २०७७ र वि.सं २०७८ मा सेवा निवृत्त हुनुभएका राष्ट्र सेवक कर्मचारीहरु श्री निरण कुमार राजवंशी र श्री बसन्त हरि श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री यादवप्रसाद कोइरालाज्यूले दोसल्ला एवं प्रशंसा पत्र दिई सम्मान गर्नुभएको थियो । साथै यस कार्यालयमा वि.सं २०४७ सालदेखि कार्यालय सहयोगी पदमा रहि निरन्तर सेवारत रहनु भएका श्री कमलप्रसाद न्यौपानेलाई उत्कृष्ट कर्मचारी छनौट गरि प्रशंसा पत्र सहित दोसल्ला ओढाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय अभिलेखालयबाट हालसम्म प्रकाशन भएका पुस्तकहरु तथा महत्वपूर्ण अभिलेखहरुको फोटो प्रदर्शनी पनि गरिएको थियो ।