Government of Nepal

Ministry of Culture, Tourism & Civil Aviation

National Archives

Ramshah Path, Kathmandu , Nepal



Avatar

शौभाग्य प्रधानाड्ग
निमित्त महानिर्देशक राष्ट्रिय अभिलेखालय

भारतले हालै सार्वजनिक गरेको नक्सामा दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारत रहेको उल्लेख गरेपछि अहिले नेपालमा तरंग पैदा भएको छ। नेपाललले तीनै क्षेत्रको भरपर्दो अभिलेख सार्वजनिक गर्दापनि भारतले ती स्थानलाई आफ्नो भन्न छाडेको छैन। नेपालको सबै नक्सा सहितको हजारौ वर्षदेखिको पुरानो अभिलेख संकलन गरी माइक्रो फिल्म प्रविधिमा सुरक्षित राख्ने सरकारी निकाय राष्ट्रिय अभिलेखालयले कालापानी, लिपुलेक र लिम्पियाधुराको नक्सा, जनगणना, जनमत संग्रहको सम्पुर्ण अभिलेख सुरक्षित राखेको छ । अभिलेखालयले ५० हजारको संख्यामा हस्तलिखित ग्रन्थ, तिब्बती लिपी, संसद सचिवालयबाट उपलब्ध गराएको अभिलेख, शिलालेखका उतार, परराष्ट्रमन्त्रालयले उपलब्ध गराएको अभिलेख सुरक्षित राखेको छ । पछिल्लो समय नेपाल र भारतको सिमानाको विषयमा विवाद पर्न थालेपछि सरकारले अभिलेखालयलाई महत्वपुर्ण निकायको रुपमा लिन थालेको छ । अभिलेख संरक्षण, सरकारले उलपब्ध गरेका दस्ताबेजलाई कसरी माइक्रो फिल्ममार्फत सुरक्षित राखेको छ त भन्ने लगायतका विषयमा राष्ट्रिय अभिलेखालयका निमित्त महानिर्देशक शौभाग्य प्रधानाड्गसँग नेपाल समाचारपत्रका ईश्वरराज ढकालले गरेको कुराकानीः

राष्ट्रिय अभिलेखालयमा के कस्ता अभिलेखहरू छन् ?

५० हजारको संख्यामा हस्तलिखित ग्रन्थ, करिब १ हजार २ सय संख्यामा तिव्बती लिपिका ग्रन्थ, करिब २ हजार ४ सय पोका कुमारी चोकका अभिलेख, निजामती किताबखानाको रेकर्डमा ८ सय ४ थान, विसं २०३६ सालको ४ सय ३१ थान मतदाता नामावली कानुन मन्त्रालयबाट प्राप्त ५ सय ५ पोका, परराष्ट्र मन्त्रालयबाट प्राप्त अभिलेख, संसद सचिवालयबाट प्राप्त अभिलेख, शिलालेखका उतार, ताम्रपत्र, शुरूदेखिका गोरखापत्र, द राइजिङ नेपाल, लालमोहर, करिब २ लाख ग्रन्थका माइक्रोफिल्म संकलनमा रहेका छन्। नेपालको सिमानासँग सम्बन्धित केही नक्सा र यससँग सम्बन्धित केही अन्य कागजात संकलन छन्।

लिपुलेक कालापानी र लिम्पियाधुराको अभिलेखालयसँग भएको केही माइक्रोफिल्मबाट फोटोकपी गरी सामाग्री भूमिसुधार मन्त्रालयमा पेस गरेका छौं। हामीसँग विसं ३०३६ सालको जनमत संग्रहमा त्यस क्षेत्रका बासिन्दाले भाग लिएको समाग्रीसमेत सुरक्षित छन।

लिपुलेक कालापानी र लिम्पियाधुराकोअभिलेखालयसँग भएको केही माइक्रोफिल्मबाट फोटोकपी गरी सामाग्री भूमिसुधार मन्त्रालयमा पेस गरेका छौं। हामीसँग विसं ३०३६ सालको जनमत संग्रहमा त्यस क्षेत्रका बासिन्दाले भाग लिएको समाग्रीसमेत सुरक्षित छन।

राष्ट्रिय अभिलेखालयको घोषित उद्देश्य के हो ?

शुरूमा वीर पुस्तकालयमा भएका हस्तलिखित ग्रन्थहरू संरक्षण र व्यवस्थापन र अध्ययन अनुसन्धान गर्ने उद्देश्यले विसं २०२४ सालमा राष्ट्रिय अभिलेखालयको स्थापना भएको थियो। त्यसपछि अभिलेख संरक्षण र व्यवस्थापन र अध्ययन अनुसन्धानलगायत विभिन्न विषय र समयका अभिलेख पनि संकलन भएका छन्।

हाल राष्ट्रिय अभिलेखालयमा लगभग ५० हजारको संख्यामा हस्तलिखित ग्रन्थहरू, करिब १ हजार १ सय संख्यामा तिव्बती लिपिका ग्रन्थ, करिब २ हजार ४ सय पोका कुमारी चोकका अभिलेख, निजामती किताबखानाको रेकर्डमा ८ सय ४ थान, विसं २०३६ सालको ४ सय ३१ थान मतदाता नामावली कानुन मन्त्रालयबाट प्राप्त ५ सय ५ पोका, परराष्ट्र मन्त्रालयबाट प्राप्त अभिलेखहरू, संसद् सचिवालयबाट प्राप्त अभिलेख, शिलालेखका उतार, ताम्रपत्र, शुरूदेखिका गोरखापत्र, द राइजिङ नेपाल, लालमोहरहरू, करिब २ लाख ग्रन्थका माइक्रोफिल्म संकलनमा रहेका छन्।

सबै मन्त्रालयले अभिलेख उपलब्ध गराएका छन् ?

अभिलेख संरक्षण ऐन, २०४६ अनुसार अभिलेख सिर्जना गर्ने निकायहरू नेपाल सरकारअन्तर्गतका कार्यालयले २५ वर्ष वा सोभन्दा पुराना राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण कागजातहरू राष्ट्रिय अभिलेखालयमा पठाउनुपर्ने व्यवस्था गरेको छ।

हाल सम्ममा कुमारी चोकका अभिलेख, कानुन मन्त्रालय, परराष्ट्र मन्त्रालय, भूमिसुधार मन्त्रालय, निजामती किताबखाना, संसद् सचिवालय, हुलाक विभागबाट अभिलेखका मूलप्रति प्राप्त भएका छन् भने गुठी संस्थान, केशर पुस्तकालय, आसास फुकुथीबाट माइक्रोफिल्म तथा डिजिटल प्रति प्राप्त भएका छन्।

कति सालदेखिको संविधानको अभिलेखीकरण गरिएको छ ?

विसं १९१०को ऐन, विसं २०४७ लगायत विभिन्न समयका सविधान सुझाव आयोग, सविधान सचिवालय र व्यवस्थापिका संसदबाट प्राप्त अभिलेखकासाथै विसं २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानको मूलप्रति संग्रहमा रहेको छ।

अभिलेखालयलाई स्थानान्तरण गरी सर्वोच्च अदालत बनाउने प्रक्रियाको किन विरोध गर्नुभयो ?

समाननित सर्वोच्च अदालत बनाउने विषयमा हामीले कुनै विरोध गरेका छैनौं। तर राष्ट्रिय अभिलेखालयको स्थानान्तरण गर्ने विषयमा भने अलिबढी संवेदनशील भएकोले हामी चिन्तित भएका हौं।

यो अभिलेखालयको स्थानान्तरण गर्दा यहाँ रहेका पाचौं शताब्दीदेखिका विश्वमै दुर्लभ ग्रन्थ, कागजको विकास नहुँदै ताडपत्रमा लेखिएका ग्रन्थ, भोजपत्र ग्रन्थहरू, नवौं शताब्दीदेखिका कागजमा लेखिएका ग्रन्थ, विभिन्न निकायबाट प्राप्त भएका महत्वपूर्ण तर जीर्ण अवस्थामा रहेका अभिलेख, देशका पूर्व मेचीदेखि पश्चिम महाकाली, हिमालदेखि तराईबाट संकलन गरिएका ग्रन्थहरूको फिल्मिङ गरिएका माइक्रोफिल्मसमेत स्थानान्तरण गर्नुपर्ने हुन्छ।

यी सामग्रीहरू अत्यन्त दुर्लभ, प्राचीन, अत्यन्त संवेदनशिल हुने हुनाले नष्ट भएमा कुनै पनि उपायबाट त्यसको परिपूर्ति नहुने भएकोले यस्ता अभिलेखहरू स्थानान्तरको विषय देशका लागि नै उच्च जोखिम हुने, अपुरणीय क्षति हुने संभावना देखिन्छ। तसर्थ यी अमूल्य राष्ट्रिय नीधिका संरक्षणको विषयमा पुनर्विचार गर्न विनम्र अनुरोध गरेका हौं।

राष्ट्रिय अभिलेखालयको लागि यही स्थान हुनुपर्दछ भन्ने छ ?

राष्ट्रिय अभिलेखालय अन्य कार्यालयजस्तै सहजै स्थानान्तरण गर्न सक्ने कार्यालय होइन। यहाँ विभिन्न कालखण्डका विभिन्न प्रकृतिका विभिन्न अवस्थाका अभिलेखलाई प्रकृति हेरी अवस्थाअनुसारको वातावरण र आद्रतालाई व्यवस्थापन गरी संरक्षण र सुरक्षितरूपमा राखिएको छ।

यी सुरक्षित अभिलेख यहाँबाट अन्यत्र स्थानान्तरण गर्ने क्रममा अत्यन्त दुर्लभ, प्राचीन, अत्यन्त संवेदनशील अभिलेखहरू अव्यवस्थित भई नष्ट हुने प्रबल सम्भावना छ।

साथै सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने पनि द्वन्द्व र आन्दोलनको लागि निषेधित क्षेत्र, चौबीसै घण्टा विद्युत आपूर्ति हुने, नजिकै सुरक्षावलको उपस्थिति, सेवाप्रवाहको दृष्टिकोणले प्रशासनिक केन्द्रकोसँगै रहेको यस अभिलेखालयको लागि यो एकदमै उपयुक्त स्थान हो।

सर्वोच्च अदालत, भूमिसुधार जस्ता केन्द्रीय निकायका सेवाग्राहीलाई यस कार्यालयमा संरक्षित अभिलेखको बारम्बार आवश्यक पर्ने भएकोले सेवाग्राहीको सुविधाको लागि पनि यो कार्यालय केन्द्रीय निकायको नजिकमा हुनु आवश्यक देखिन्छ।

राष्ट्रिय अभिलेखालय अभिलेख संरक्षण र व्यवस्थापनका लागि भनेरै उपयुक्त स्थान छनोट गरी आवश्यक पूर्वाधारसहित निर्माण गरिएको भवन हो यो। देशको प्रशासनिक औजारको रूपमा रहेको अभिलेखहरूको संरक्षण देशकै प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबारको परिसरमा हुनु सेवा प्रवाहको दृष्टिकोणले हेर्ने हो भने अत्यन्त उपयुक्त स्थान हो।

५२ वर्षदेखि निरन्तररूपमा यहाँबाट सेवा पुर्याइरहेको छ। यस क्रममा अभिलेखालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान्हरूको अध्ययन केन्द्रको रूपमा समेत आफ्नो पहिचान बनाइसकेको छ।

विसं २०७२ सालको महाभूकम्पमा समेत सुरक्षित यो राष्ट्रिय अभिलेखालय भवनको निर्माण अभिलेख संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक पूर्वाधारहरू, जस्तैः वातानुकलित भण्डारण कक्ष, तापक्रम, प्रकाश र आद्र्रताको उचित सन्तुलन, माइक्रोफिल्म डेभलप गरी प्रतिलिपि तयार गर्न अँध्यारो कोठा, सेवाग्राहीलाई अध्ययनको सुविधा उपलब्ध गराउन अध्ययन कोठा आदिले युक्त भएको भवन भत्काएर पुनः नयाँ स्थानमा नयाँ संरचना बनाउँदा देशको अरबौंको आर्थिक भारसमेत थपिने हुन्छ।

सरकारले अभिलेखालय स्थानान्तरण गर्ने विषयमा के भनेको छ ?

राष्ट्रिय अभिलेखालयलाई सार्ने निर्णय वर्तमान सरकारको निर्णय होइन। योे मिति २०६७ साल वैशाख २५ को मन्त्रिपरिषद्को निर्णय हो। त्यस समयदेखि नै यस विषयमा हामीले बारम्बार माथिल्लो निकायमार्फत सरकारलाई जानकारीसहितको अनुरोध गरिसेकेका छौं। यस विषयमा नेपाल सरकारको ध्यानार्कषण भइसकेको छ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयवाट आवश्यक पहल भइरहेको छ।

हालका मन्त्रीले अभिलेखालय स्थानान्तरण गर्ने विषयमा के धारणा राख्नुभएको छ ?

माननीय मन्त्रीज्यू राष्ट्रिय अभिलेखालयमा आउनुभई यस भवन र यहाँ संकलनमा रहेका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महत्वका अभिलेखीय सम्पदाको अवलोकन गरिसक्नुभएको छ। उहाँले यी अभिलेखीय सम्पदाको महत्व र संवेदनशीलता बुझ्नुभएको छ।

यस विषयमा योभन्दा उपयुक्त विकल्प नभएसम्म, यो भन्दा उत्तम पूर्वाधार तयार नभएसम्म देशकै अत्यन्त दुर्लभ, प्राचीन, अत्यन्त संवेदनशील अभिलेखीय सम्पदा रहेको यस अभिलेखालयलाई अन्यत्र स्थानान्तरण नगर्ने र यसको लागि आवश्यक परेमा निर्णय पुनर्विचार गर्नसमेत पहल गर्ने बताउनुभएको छ।

यहाँ रहेका अभिलेखीय सामग्री संरक्षण, व्यवस्थापन तथा अध्ययन अनुसन्धानकर्तालगायत सेवाग्राहीलाई सहज सेवा उपलब्ध दिने व्यवस्था गर्नुकासाथैराष्ट्रिय अभिलेखालयलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन विभिन्न योजनाहरू तयार गर्दै अगाडि बढाउने प्रयास भइरहेको छ।

अभिलेखालयमा कस्ता अभिलेख संग्रहित छन् ?

नेपालको इतिहास र संस्कृतिको अकाट्य स्रोतका रूपमा रहेका अभिलेखात्मक सम्पदाका थुप्रै विधासँग सम्बन्धित अभिलेख यसको संकलनमा रहेका छन्। पाचौं शताब्दीदेखि बीसौं शताब्दीसम्मका प्राकृत, पाली, संस्कृत, मैथिली, नेवारी, तिब्बतीलगायत विभिन्न भाषामा लेखिएका ग्रन्थहरू यहाँ संग्रहित छन्।

प्राचीन देवनागरी, मिथिलाक्षर, रञ्जना, बंगाली, उत्तर लिच्छवी आदि लिपिको प्रयोग गरी ज्योतिष, आयुर्वेद, योग, धर्मशास्त्र, पुराण, दर्शन, तन्त्र, कर्मकाण्ड, साहित्य, व्याकरण, इतिहास आदि विषयसँग सम्बन्धित ग्रन्थहरू ताडपत्र, भोजपत्र, नीलपत्र, नेपाली कागज, थ्यासफु आदि सामग्रीमा लेखिएका छन्।

विभिन्न कालखण्डमा विभिन्न स्थानमा लेखिएका हस्तलिखित ग्रन्थहरू, ११औं १२औं शताब्दीदेखि १९ औं शताब्दीसम्मका इतिहास धर्म र संस्कृतिसँंग सम्बन्धित तिब्बती लिपि एवं भाषाका हस्तलिखित एवं ब्लकप्रिन्ट ग्रन्थहरू पनि यहाँ संकलित रहेका छन्।

राष्ट्रिय अभिलेखालय, केशर पुस्तकालय, देशका विभिन्न भूभागमा अवस्थित मठ मन्दिर तथा गुम्बाहरू तथा विभिन्न व्यक्तिहरूको निजी संग्रहमा संरक्षित मूल ग्रन्थहरूको माइक्रोफिल्म गरी संग्रह गरिएको छ। यसैगरी ऐतिहासिक कागजपत्रहरू जस्तैः– लालमोहर, सन्धि सम्झौता, ऐतिहासिक चिठीपत्रहरू, स्याहामोहर, खड्ग निशाना, सनद, सबाल, चिठीपत्र, सन्धिपत्र, इच्छापत्र, द्विछापे, रुक्का, इस्तिहार आदि रहेका छन्।

यसका अतिरिक्त लगभग ३ हजार शिलापत्रका रविङहरू, भूमिसम्बन्धी कागजपत्र, निजामती कर्मचारीका सिटरोल, प्रकाशनकै समयदेखिका गोरखापत्र, हुलाक टिकट रहेका छन्।

विसं. २०७२ साल असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानको प्रमाणित प्रतिसमेत संरक्षणको लागि राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ। त्यस्तै मुन्सीखाना जैसीकोठा हँुदै परराष्ट्र मन्त्रालयबाट प्राप्त ऐतिहासिक कागजपत्रहरू यहाँको संग्रहित रहेका छन्।

लिपुलेक र कालापानीलगायत सबै सिमानाको डकुमेन्ट अभिलेखालयमा छन् ?

नेपालको सिमानासँग सम्बन्धित केही नक्सा र यससँग सम्बन्धित केही अन्य कागजातहरू यहाँको संकलनमा रहेका छन्। लिपुलेक कालापानी र लिम्पियाधुराको अभिलोखालयसँग भएको केही माइक्रोफिल्मबाट फोटोकपी गरी सामाग्री भुमिसुधार मन्त्रालयमा पेस गरेका छौं। हामीसँग विसं ३०३६ सालको जनमत संग्रहमा त्यस क्षेत्रका बासिन्दाले भाग लिएको समाग्रीसमेत सुरक्षित छन्।

अति महत्वपूर्ण अभिलेखको नाम लिनुपर्दा के के हुन् ?

राष्ट्रिय अभिलेखालयमा संकलन र संरक्षणको प्राप्त हुने अभिलेख भनेकै महत्वपूर्ण र अति महत्वपूर्ण अभिलेख नै हुन्। तसर्थ यी यहाँ संकलित सबैजसो अभिलेखको आआफ्नै विशिष्टता छ, कुनै अभिलेख लिपिको दृष्टिले महत्वपूर्ण छ भने कुनै विषयका दृष्टिले त कुनै भाषा, लेख्य सामग्री, इतिहास, धर्म तथा दर्शनको अध्ययनका दृष्टिले महत्वपूर्ण देखिन्छ।

सबै अभिलेखहरू अद्वितीय भएकाले कुनभन्दा कुन महत्वपूर्ण छ भन्न कठिन छ, तर पनि पाचौं शताब्दीको दशभूमिसुत्र, सन् ८१० इस्वीको उत्तरलिच्छवी लिपिमा लेखिएको स्कन्दपुराण, ८औं शताब्दीकै ताडपत्रमा लेखिएको उत्तर लिच्छवी लिपिको बौद्ध दर्शनको सद्धर्मपुण्डरिकसूत्र, ११औं शताब्दीतिरको पाली भाषामा ताडपत्रमा लेखिएको विनयपिटक, यस्तै १२औं शताब्दीमा शारदा लिपिमा लेखिएको कारण्य व्यूहसूत्र (जुन नेपालमा प्राप्त कागजमा लेखिएको सबैभन्दा पुरानो हस्तलिखित ग्रन्थको रूपमा प्रसिद्ध छ), सन् १३८० को जयस्थिति मल्लको वैधानिक कानुन ‘न्यायविकासिनी’ ‘मानवधर्मन्यायशास्त्र, जसलाई संसारकै प्राचीन लिखित कानुनहमध्ये एक मानिन्छ), नेपाल संवत् २८ को आयुर्वेदसम्बन्धी ग्रन्थ लंकावतार, नवौं शताब्दीको शैवतन्त्रसम्बन्धी ग्रन्थ निश्वासतत्वसंहिता (जसलाई यूनेस्कोले मेमोरी अफ द वल्र्ड रजिस्ट्ररमा सूचिकृतसमेत गरेको छ), आदि ग्रन्थहरू विश्वमै प्रसिद्धि कमाएका, संसारले नै गौरव गरेका र विश्वकै अमूल्य सम्पत्तिको रूपमा रहेका छन्।

यसैगरी यसको संकलनमा पृथ्वीनारायण शाहको दिव्य उपदेशको हस्तलिखितप्रति, विसं २०७२ साल असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानको प्रमाणित प्रतिसमेत संरक्षणको लागि राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ। त्यस्तै विभिन्न निकायबाट प्राप्त देशको सीमा, राष्ट्रियता र सार्वभौमसम्बन्धी ऐतिहासिक कागजपत्र यहाँको संकलनमा रहेका छन।

पुराना अभिलेख जोगाउन के उपाय अबलम्बन गरिएको छ ?

यहाँ संकलित अभिलेखको संरक्षण र सुरक्षाको लागि भौतिक, रासायनिक, संरक्षण गरी वातानुकूलित भण्डारण कक्षहरूमा सुरक्षित राखेका छौं। अभिलेखको प्रकृति हेरेर अत्याधुनिक प्रविधि गरी उपयुक्त तापक्रम, आद्रताको व्यवस्था रहेको छ।

नयाँ प्राप्त भएका अभिलेखलाई रासायनिक संरक्षण गरी आवश्यकताअनुसार भौतिक संरक्षण गरीमात्र भण्डारण कक्षमा पठाउने व्यवस्था रहेको छ। देशका अत्यन्त महत्वपूर्ण अभिलेखलाई फायरपु्रफ दराजमा सुरक्षित राखिएको छ।

यहाँ आगलागिबाट बचाउन स्मोक डिटेक्टर, अर्लाम सिस्टम, फायर डिस्टिङग्युसर आदिको व्यवस्था गरिएको छ। अभिलेखालयको भित्र बाहिर विभिन्न ठाँउहरूमा सीसी क्यामेरा जडान गरी गरिएको छ।

यसको सुरक्षाको लागि चौबीसै घण्टा प्रहरी बल खटिएको छ।यहाँ रहेका अभिलेखहरूको मूल प्रति सुरक्षित राखी सेवाग्राहीलाई माइक्रोफिल्म र डिजिटल प्रविधिबाट प्रतिलिपि उपलब्ध गर्ने व्यवस्था गरिएको छ।

कति सामग्री माइक्रोफिल्म प्रविधिमा राखिएको छ ? कति बाँकी छन् ?

वीर पुस्तालयबाट प्राप्त सम्पूर्ण अभिलेखहरू, देशका विभिन्न निकायहरू जस्तै केशर पुस्तकालय, गुठी संस्थान, पशुपतिबाट प्राप्त अभिलेखलगायत देशका विभिन्न क्षेत्रबाट प्राप्त ग्रन्थ तथा कागजातसमेत गरी करिब २ लाख ग्रन्थको माइक्रोफिल्म भएका छन्। पछिल्लो कालमा प्राप्त अभिलेखको माइक्रोफिल्म हुन बाँकी छ।

माक्रोफिल्म प्रविधिमा अभिलेख राख्ने काम कहिलेदेखि भएको हो ?

अभिलेखलाई माइक्रोफिल्म गर्ने प्रविधिको शुरू नेपालमा विसं २०१८ सालमा नै भएको पाइन्छ। नेपाल जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजना जर्मन नेपाल मञ्जुस्क्रििप्ट प्रिजरभेसन प्रोजेक्टको शुरुआत विसं. २०२७ सालमा शुरू भई विसं २०५८ सम्म सञ्चालन भएको थियो।

सो अवधिमा राष्ट्रिय अभिलेखालयमा रहेका र देशका विभिन्न क्षेत्रबाट संकलिन करिब १ लाख ८१ हजार ग्रन्थको माइक्रोफिल्म भएको थियो।

सर्वसाधारणले अभिलेख हेर्न मिल्छ ? कस्तो व्यवस्था छ ?

राष्ट्रिय अभिलेखालयका मुख्य उद्देश्यमध्ये एक उद्देश्य भनेको यहाँ रहेका अभिलेखहरूमा सर्वसाधारणको पहँुच पुर्याउनु पनि एक हो। त्यसैले निषेधित भनि तोकिएका अभिलेखबाहेक अभिलेख सर्वसधारणले हेर्न चाहेमा तोकिएबमोजिम प्रक्रिया पुर्याई हेर्न र पढ्न र प्रतिलिपि प्राप्त गर्न सकिन्छ।

अबको योजना के हो ?

राष्ट्रिय अभिलेखालयको संकलनमा रहेका अभिलेखीय सामग्री स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताका लागि महत्वपूर्ण, प्रामाणिक, प्राज्ञिक, सूचनामूलक स्रोत साबित भएका छन्।

यहाँ रहेका अभिलेखीय सामग्री संरक्षण, व्यवस्थापन तथा अध्ययन अनुसन्धानकर्तालगायत सेवाग्राहीलाई सहज सेवा उपलब्ध दिने व्यवस्था गर्नुकासाथै राष्ट्रिय अभिलेखालयलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन विभिन्न योजनाहरू तयार गर्दै अगाडि बढाउने प्रयास भइरहेको छ।

जसमध्ये राष्ट्रिय अभिलेखालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका अभिलेख संकलन केन्द्र, अध्ययन अनुसन्धान केन्द्र, अभिलेख संरक्षण केन्द्र, अभिलेख संरक्षण तथा व्यवस्थापनसम्बन्धी तालिम केन्द्र र डिजिटल आर्काइभ केन्द्र गरी विभिन्न क्षेत्रमा विकास गर्ने सोचका साथ योजना तयार गर्दैछौं।

त्यसैगरी राष्ट्रिय अभिलेखालयलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सहज सेवा पुर्याउन देश विदेशमा रहेका अध्ययन तथा अनुसन्धानकर्ता तथा सरोकारवालालाई इ सर्भिसमार्फत अभिलेख अध्ययन तथा डिजिटल डकुमेन्ट उपलब्ध गराउने प्रविधिको विकास गरी अन्तर्राष्ट्रिय जगतमा नै सेवा उपलब्ध गराउन पूर्वाधार तयार हँुदैछ

आउन बाँकी रहेका पुराना अभिलेखको विषयमा सरकारसँग समन्वय भएको छ ?

देशका विभिन्न निकाय सरकारी, गैरसरकारी संस्था र व्यक्तिको निजी संकलनमा रहेका महत्वपूर्ण अभिलेखहरू संकलन र संरक्षणको लागि सम्बन्धित निकायका सरोकार भएका व्यक्तिहरूसंँग समन्वय गर्दै अभिलेखहरू संकलन गर्ने कार्य भइरहेको छ।

यसको लागि अभिलेख सिर्जना गर्ने निकायहरूको सहभागितामा छलफल, गोष्ठी, अभिमुखीकरण एवं जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।